
युवा उद्यमशीलता, रोजगारीका अवसर र नवीन सोचको प्रवर्द्धन गर्ने उद्देश्यले कोहलपुर नगरपालिका-११ न्युरोड खुल्ला मैदानमा लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन बिहीबारदेखि सुरु भएको छ।
कार्यक्रमको अध्यक्षता कोहलपुर नगर स्तरीय युवा क्लब संजालका अध्यक्ष रमेश वरले गर्नुभएको थियो भने प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य सन्जु कुमारी थारु रहनुभएको थियो। कार्यक्रममा जनप्रतिनिधिहरू, विभिन्न सहयोगी संघसंस्थाका प्रतिनिधि, स्थानीय युवा क्लब संजालका पदाधिकारीहरू, तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।कार्यक्रम फागुन १५, १६ र १७ गते सम्म सञ्चालन गरिनेछ। आयोजकका अनुसार, सम्मेलनको प्रमुख उद्देश्य युवाहरूका लागि रोजगारीका सम्भावनाहरू खोजी गर्नु तथा “लुम्बिनी आइडिया बैंक” स्थापना गर्ने योजना अघि बढाउनु रहेको छ।

“युवाहरूले सिर्जनात्मक सोच, सीप विकास र आत्मनिर्भर रोजगारीको अवसर प्राप्त गर्नुपर्छ। यस सम्मेलनले उनीहरूलाई सीपमूलक ज्ञान, रोजगारी सम्भावना र उद्यमशीलताको मार्ग निर्देशन गर्नेछ,” आयोजक समितिले जनाएको छ।रोजगारी तथा उद्यमशीलता प्रवर्द्धन: युवाहरूलाई स्थानीयस्तरमै रोजगारीका अवसरहरू पहिचान गर्न प्रेरित गरिनेछ। “लुम्बिनी आइडिया बैंक” स्थापनाको योजना: नवीन सोच, स्टार्टअप आइडिया तथा उद्यम विकासलाई संरचनागत रूपमा अघि बढाउने पहल गरिनेछ।नेटवर्किङ र सहकार्यको अवसर: विभिन्न क्षेत्रका युवा, संघसंस्था तथा जनप्रतिनिधिहरूबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गरिनेछ।
आयोजकले युवाहरूलाई यो सम्मेलनमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ। नयाँ सम्भावना, उद्यमशीलताको अवसर र रोजगार सिर्जनाका विषयमा महत्वपूर्ण छलफलहरू हुने भएकाले यो सम्मेलन युवाहरूका लागि सुनौलो अवसर हुनसक्ने आयोजकको विश्वास छ।
आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक तथा प्रभावशाली कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता आयोजक टोलीले जनाएको छ।