
तुल बहादुर कवँर मगर / भालुवाङ, ९ फागुन
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले सांसद, मन्त्री तथा कर्मचारीहरूको आनीबानी सुधार गर्न आध्यात्मिक ज्ञान आवश्यक रहेको बताउनुभएकाे छ।

राप्ती गाउँपालिका मसुरीया दाङ र ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राप्ती गाउँपालिका–१ शाखा पाखापानीको संयुक्त आयोजनामा दाङको राप्ती गाउँपालिका–३ मसुरीया सिरिचौरमा आयोजित ८९औं महाशिवरात्रि महोत्सव तथा सचेतनामूलक कार्यक्रममा उहाँले एकअर्काको खुट्टा तान्ने प्रवृत्ति, सत्ता हुँदा सबै राम्रो र सत्ता बाहिरिएपछि सबै नराम्रो देख्ने राजनीतिक विकृति हटाउन आध्यात्मिक प्रशिक्षण प्रभावकारी हुन सक्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले मादक पदार्थ सेवन, लापरवाही तथा गलत आनीबानीले समाज बिग्रिरहेको भन्दै सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो। लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड केसीले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताउँदै आध्यात्मिक चिन्तनको विकास आवश्यक रहेको सुझाव दिनुभयो।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय कार्यालय तुलसीपुर राप्तीका क्षेत्रीय प्रमुख राजयोगिनी गीता दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लागुऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक आध्यात्मिक नाटक प्रस्तुत गरिएको थियो।
कार्यक्रमअघि राप्ती गाउँपालिकाको कार्यालय मसुरीयाबाट प्रभातफेरी निकालिएको थियो। ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा पाखापानीकी प्रमुख यमुना दिदीले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रम ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय दाङका प्रवक्ता माधव तिमिल्सिनाले सञ्चालन गर्नुभएको थियो।
तनाव व्यवस्थापन र सकारात्मक सोचका लागि प्रशिक्षण महाशिवरात्रि महोत्सवअन्तर्गत जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, शिक्षक, संघसंस्थाका प्रमुख तथा सुरक्षाकर्मीलाई तनाव व्यवस्थापन र सकारात्मक सोचको विकासका लागि प्रेरणादायी प्रशिक्षण दिइएको छ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय दाङका प्रवक्ता माधव तिमिल्सिनाका अनुसार समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक निर्माण गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको हो।
कार्यक्रमको पहिलो दिन अन्तर्राष्ट्रिय प्रशिक्षक ब्रह्माकुमार बिजयराज सिग्देलले शिक्षक र अभिभावकलाई नैतिक शिक्षा, मूल्य आधारित शिक्षण, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन र सकारात्मक सोचबारे प्रशिक्षण दिनुभयो। बिहीबार र शुक्रबार जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, राजनीतिक दलका प्रमुख, सुरक्षाकर्मी तथा संघसंस्थाका प्रतिनिधिहरूलाई मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, सकारात्मक सोच तथा लागुऔषध दुव्र्यसन नियन्त्रणसम्बन्धी प्रशिक्षण दिइएको उहाँले जानकारी दिनुभयो।