
दाङ, माघ २८
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराले ढिलोचाडो विप्लवसँग एकता हुने बताएका छन ।

लुम्बिनी प्रदेशको राजधानी देउखुरीस्थित प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन लाई सम्बोधन गर्दै महराले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग सहकार्य गर्दै पार्टी एकता हुने बताएका हुन् ।
उनले भने ” ढिलो चाँडो विप्लवसँग एकता हुन्छ। अलि ढिलो होला। हामी एक ठाउँमा हुनुपर्छ। देशको राजनीति त्यति स्थायि स्थितिमा छैन। काङ्ग्रेस एमालेको सरकार छ तर निकै नाजुक छ। यो नाजुक अवस्थाबाट माथि आउनको निमित्त हाम्रो पार्टीमा आकर्षण बढेको छ । नेकपा माओवादीमा आकर्षण बढेको छ, जनताहरू आकर्षित छन। ”
एमाले, कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गर्नेको ठुलो लहर रहेको महराले बताए । लामो बहसपछि भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले दक्षिणतिर गएको पार्टी दायाँतिर फर्किएको दाबी गरे । विभाजित मानसिकता भएका माओवादीहरू एक ठाउँमा उभिएपछि ६४ को चालमा फर्किने बताए । केन्द्रीय समितिको बैठकले एकताको सन्देश दिएको र यो बिस्तारै अगाडि बढ्ने जिकिर गरे।