
माघ १९ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ दोघरेमा रहेको पारिजात इङ्लिस स्कुलले १७ औ बार्षिकोत्सब भब्यताका साथ मनाएको छ ।
पारिजात इङ्लिस स्कुलका प्रबन्ध निर्देशक बल बहादुर पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यता एबम नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपाने र पारिजात स्कुलका संस्थापक अध्यक्ष हरि प्रसाद भण्डारीको बिशेष आतिथ्यतामा बार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकाले ब्यबस्थापक तथा शिक्षकहरुकोको लगनशीलता र मेहनतकै कारण पारिजात स्कुल शैक्षिक क्षेत्रमा अब्बल बन्दै गएको बताउनुभयो । त्यस्तै अभिभावक, शिक्षक र विद्यार्थी बिच सुमधुर सम्बन्ध राख्नसके विद्यार्थिको सिकाई स्तर वृद्धि गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिशेष अतिथी नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले बालबालिकाप्रती अभिभावकको भुमिकाको विषयमा चर्चा गर्नुभएको थियो । छोराछोरीका लागि पहिलो पाठशाला घर अनि पहिलो शिक्षक अभिभावक नै भएको उहाँको भनाई थियो । साथै उहाँले पारिजात स्कुलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । विद्यालयहरुको भिडमा पारिजात स्कुलले छुट्टै पहिचान बनाउन सफल भएको उहाँको भनाई थियो । शैक्षिक गुणस्तर सँगै खेलकुद र अतिरिक्त कृयाकलापको आधारमा विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै गएको भन्दै थप उन्नति र प्रगतिको कामना गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रोमर्श शर्माले विद्यालयको समग्र विकासका लागि गुरुयोजना बनाएर अघि बढेको बताउनुभयो । अबको १ बर्ष भित्र आफ्नै भबनमा पठनपाठन हुने गरि काम गरिरहेको पनि उहाले बताउनुभयो । साथै गुणस्तरीय शिक्षा सँगै बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि पुर्ण रुपमा समर्पित भएको उहाँको भनाई थियो ।
त्यस्तै कार्यक्रममा वक्तित्वकला प्रतियोगिता समेत राखिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गित, नाटक प्रस्तुत गरेका थिए । विद्यालयले आयोजना गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।
शिक्षिका अनिता कंडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक खुमराज पाण्डेले गर्नुभएको थियो ।