पेटहरु आज पनि भोकाउछन्
अन्न बिनाको भकारी हेरी चित्त बुझाउँछन्
आँखा हरु आज पनि रसाउँछन्
सुक्न लागेको घाउ हेरी चित्त बुझाउँछन्
दशैं तिहार आज पनि आउँछ
मैलो स्कुले कमिज हेरी चित्त बुझाउँछ
यहाँ यस्तै हो
चित्त बुझेन भने पनि चित्त बुझाउँनु पर्छ
पत्थर भएको मुटुले के हेर्छ खोइ
अचेल धेरै भयो खडेरी परेको छ
आँखामा बर्खा लाग्न नपाउँदै
प्रकृतिमा सरद लागिसकेछ
र पनि चित्त बुझाएका छन् परेला हरुले
विश्वास पनि कस्को गर्नु?
बगर पानिको छेउमा भएर पनि सुख्खा हुन्छ
हिउँ पग्लिदा हिमाल पनि नाङ्गिन्छिन् ।।
नदि हडपेर बग्न नजान्ने पानिको आस गरेर
चित्त बुझाउँछन्
नियतिले भन्दा पनि नियतले ठगिएका हरु ,
खोक्रो राष्ट्रवाद देखाउने मार्गदर्शकहरु
खै कता खोक्दैछन्
तिनको खोकाई सम्झेरै चित्त बुझाउँछन्
निमुखाहरु
किन्नेले नुन देखि कानुन किनिसके
सन्तुष्टि को स्वाद घोलेर तिहुन पकाउँछन्
गरिब हरु
बनाउनेले देशको छातिमा बङ्गाल बनाए
झुपडीमा छाल ओढेर निदाउँछन्
अनिदाहरु
चित्त बुझाउनुपर्छ ,
कसैलाई उचाइ नपुगेर बन्जी जम्पिङ गर्ने रहर छ
उता तुइनमा झुन्डिएको छ कर्णाली र सुदुर
कसैलाई हाइकिङ गर्न चन्द्रागिरि पुग्नुछ
उता भिरबाट खसेर ज्यान जान्छ
कसैलाई खोकी लागेमा विदेश दौडाइन्छ
उता डोको काट्दा काट्दै सुत्केरी आमाको ज्यान जान्छ
यता प्रदेशी पाहुना आउँदा रातारात सडक बन्छ
कर्णालीमा बर्खामा पहिरोले विद्यालय बगाउँछ
यता मासु बिना भात रुच्दैन
उता आँसुसँग सुख्खा रोटी खान्छन्
फेरि पनि हामि प्रगति र समृद्धिको सपना देख्छौं
फेरि पनि लोकतान्त्र र गणतन्त्र भन्छौं
जति ठुलो टावरबाट हेरेपनि
सरकारमा बसेको सरकारले कहिल्यै देख्दैन
कर्णाली र सुदुरलाई
र पनि चित्त बुझाउँनु पर्छ…!
✍️: जयन्ता खत्री “सुधा”
जाजरकोट