विश्व बजारमा प्रतिस्पर्धा बढ्दै गर्दा तत्कालीन समयमा युवाका माग, उनीहरूका चाहना र आकाङ्क्षा अत्याधिक बढेको पाइन्छ । विश्व भूमण्डलीकरणको स्थितिमा जाँदै गरेको अवस्थामा विदेश पलायन नेपालका विद्यार्थीहरूको बीचमा अवसर र चुनौती दुवै बनेको छ । उच्च शिक्षा र राम्रो रोजगारीको अभाव, आर्थिक अवसरहरूको कमी, र विदेशमा राम्रो जीवनस्तरको अपेक्षाले गर्दा नेपाली विद्यार्थीहरू विदेश जाने प्रवृत्ति बढ्दै गएको पाइन्छ । देशका युवाहरु पलायन हुँदै गर्दा यसले देशमा चुनौती पनि थप्न सक्ने तथा युवाहरुले विदेशमा ज्ञान सीप सिकेर आउँदा देशमा सीप युक्त जनशक्तिको बढावा हुने विश्लेषण गरिएता पनि खास वैदेशिक पलायनले देशमा अवसर भन्दा पनि चुनौती बढी थपेको पाइन्छ । पछिल्ला केही समयदेखि एक दशक पछि देशमा बुढा या बाला बाहेक युवाहरु नरहन सक्ने टिप्पणी हुँदा यस विषयमा देशको सरकार, राजनैतिक व्यक्तित्व तथा संगठन संस्थाको पनि ध्यान केन्द्रित हुन जरुरी देखिन्छ ।
पछिल्ला समयमा देशव्यापी रूपमा वैदेशिक पलायनलाई रोक्नु लाई आफ्नो मुख्य नारा बनाएका विद्यार्थी संगठनले वैदेशिक पलायनलाई रोक्न विभिन्न पहल र कदमहरू उठाउँदै आएका छन । विद्यार्थी संगठनले सरकारसँग मिलेर नेपालका शैक्षिक संस्थानहरूको गुणस्तर सुधार गर्न पहल गर्ने, विश्वस्तरीय पाठ्यक्रम, शिक्षण पद्धति, र अनुसन्धानको अवसर प्रदान गर्ने गरी विश्वविद्यालय र कलेजहरूको सुधारमा जोड दिने जस्ता कार्यक्रमहरु गर्दै आएका छन ।
कलेज र विश्वविद्यालयहरूमा विभिन्न शैक्षिक सुधार कार्यक्रम, सेमिनार आयोजना गर्ने जसले विद्यार्थीहरूलाई यहाँकै अवसरहरू बारे जानकारी दिन मद्दत पुर्याउँछ । प्रविधि, विज्ञान, र अनुसन्धानमा लगानी बढाउने र आधुनिक पेशागत प्रशिक्षणहरू सञ्चालन गर्न सरकारलाई प्रोत्साहित गर्न सकिन्छ । विद्यार्थी संगठनले कलेज र विश्वविद्यालयहरूमा क्यारेयर परामर्श केन्द्र स्थापना गर्न सहयोग गर्ने , यी केन्द्रहरूले विद्यार्थीहरूलाई नेपालमै उपलब्ध क्यारेयर अवसरहरू, उद्यमशीलता, र रोजगार अवसरहरूबारे जानकारी दिन्छ ,साथै, विभिन्न पेशागत मार्गदर्शन, उद्यमशीलता विकास तालिम, र जागरूकता कार्यक्रमहरू सञ्चालन गरेर विद्यार्थीहरूको भविष्य निर्माणमा सहयोग गर्न सकिन्छ ।
संगठनले विशेष गरी विज्ञान, प्रविधि, कृषि, र पर्यटन क्षेत्रहरूमा उद्यमशीलता प्रोत्साहित गर्न सक्ने पहल गर्न सकिन्छ । विद्यार्थी संगठनले नेपाली शैक्षिक संस्थान र विदेशी विश्वविद्यालयहरू बीच सहकार्यको पहल गर्ने र यसले विद्यार्थीहरूलाई नेपालमै गुणस्तरीय शिक्षा र अनुसन्धानको अवसरहरू प्रदान गर्न मद्दत गर्दछ । साथै विदेशमा जाने विद्यार्थीहरूका लागि निश्चित अवधि अध्ययनपछि नेपाल फर्केर काम गर्न प्रोत्साहित गर्ने कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । देश भित्रै विद्यार्थीलाई पढ्दै कमाउँदै जस्ता कार्यक्रम गर्नका निमित्त सरोकारवाला निकायसंग समन्वय गरेर विद्यार्थीहरुलाई उद्यमशीलतामा जोड्न सकिन्छ । मूलभूत रूपमा अहिले विद्यार्थीहरु उच्च शिक्षा भन्दा पनि आफ्नो राम्रो भविष्य र आर्थिक अवस्था परिपक्क बनाउनका लागि पलायन हुने गरेको देखिन्छ ।
विद्यार्थी संगठनले शिक्षा नीतिको निर्माण र सुधारमा आफ्नो विचार प्रस्तुत गर्न र विद्यार्थीहरूको आवश्यकता सम्बोधन गर्न सरकारलाई दबाब दिन सक्छन् । उदाहरणका लागि आधुनिक शिक्षाको आवश्यकतालाई सम्बोधन गर्ने गरी शिक्षा नीति निर्माणमा जोड दिनुपर्छ । विद्यार्थीहरूले आफ्ना माग र विचार व्यक्त गर्न सक्ने प्लेटफर्महरू सिर्जना गर्न पनि विद्यार्थी संगठनले पहल गर्नुपर्छ । यसको साथै, विद्यार्थी संगठनले सरकार र अन्य सरोकारवालाहरूसँग मिलेर दीर्घकालीन समाधानका लागि ठोस कदम चाल्न सक्नुपर्छ । यसरी मात्र विद्यार्थी पलायनलाई न्यून गर्न र नेपालकै आर्थिक विकासमा योगदान दिन सकिन्छ ।