ऋतुमा फेरि वसन्त आए जस्तो
रुखमा नव पालुवा पलाए जस्तो
एक वेदनाको दर्दनाक रात बाट सम्भावनाको
गुनियो लाउदै
एक विधुवाको जीवनयात्रा त्यागेर
फेरि सिन्दुर,पोते,चुरा लाएर
फेरि आम नारी जस्तो जिवन बिताइरहेकी छन्
के सुनाउनु उनको बारेमा
संघर्षको सैलुन खोलेर
सपनाका पखेटा काट्दै
आधा उमेर बिताएकी छन्
मेरी आमाले
के गर्नु उनको सहनशिलता को वर्णन
अछुत र अल्छिणि जस्ता
अपमानजनक शब्दको बाणले रक्ताम्मे हुदाँ पनि
त्यहिँ समाजको भलो चिताएकी छन्
मेरी आमाले
फिराद को सित गर्नु भन्दै
पिडित र अपहेलित बन्दै
आलोचनाको थोत्रो टपरीमा
सुन भन्दा पनि सुन्दर सपनाका टुक्रालाई
आँखाको दुइ किनारमा बगिरहने
बागमती र विष्णुमतीमा
सधैँको लागि सेलाउदै
हाते मेसिनले फाटेको मन सिलाएकी छन्
मेरी आमाले
मेरी आमालाई आउदैन सुन्दरताको
सालिक बन्न
अभावको कुरुप टि-ट्वान्टी त उहिल्यै
जितेकी हुन् मेरी आमाले
मेरी आमालाई आउदैन यथार्थको
ताल्चामा, सफलताको साँचो हाल्न
बाध्यताको टाइटानिक त उहिल्यै
हाकेकि हुन् मेरी आमाले
म त्यसै म भएकी होइन
म त्यसै याहाँ उभिएकी छैन
मलाई जिन्दगीको चाप,ताप र प्रकाश
जिम्मेवारीको जोड,घटाऊ र गुणान
व्यावहारिक्ताको आत्माविश्वास र साहस
आफ्नो आशा निभेको प्रयोगशालामा
सिकाएकी हुन् मेरी आमाले
थाहा छ?
जुन दिन मेरा बा सधैँका लागि निदाए
त्यसदिन बाको निद्रा विथोल्ने
कसैकाे हिम्मत भएन
तर
मेरी आमाको धर्म विथोल्न
कयौँ नरपिचासहरु आउँथे
मेरा बा चितामा जल्दै गर्दा
कसैको ताकत भएन आगो निभाउने
तर
मेरी आमाको आशा निभाउन
कयौँ राक्षसहरु आउँथे
मेरी आमाले पाँच सन्तान
काखमा च्यापेर रुँदा
कसैको सोच भएन आँसु पुछ्दिने
तर
मेरी आमाको सिन्दुर पुछ्न
कयौँ आइमाई आएकी थिईन्
यहाँ वर्णन गरिन्छ आमाको ममताको
छाति बिना कतै धड्किनु पनि त ममता हो
यहाँ चर्चा गरिन्छ जिन्दगीको, स्थितिको
सर्वस्व सकिँदा सास अड्किनु पनि त जिन्दगी हो
गल्ति बाको हो
जिउन नसकेर संसार त्याग्नु
गल्ति समाजको हो हिजोको देवीलाइ
आज बोक्सी भन्नु
अहङ्कार र आडम्बरले ढक्क
छाति फुलाएर
अल्क्षिणिको संज्ञा दिन
गल्ति मान्दैन यो समाज
के गल्ति मेरी आमा विधुवा हुनुमा?
गल्ति गरीबिको हो
अभाव र दवाव दर्साउनु
गल्ति तिनिहरुको हो
जो मेरी आमाले सिलाएको लुगा लाएर
बाहानाको बर्को ओढेर
मेरै आमालाई निवस्त्र पार्न आउँथे
सोच्दैनथे आफ्नो आमा जस्तो मेरी आमालाई
के गल्ति मेरी आमा निरिह हुनमा?
क्या गर्वको साथ भन्थेँ
लाज पचाएकी र श्रम बेचेकी भनेर
पचाउन त लाज सँगै
क्रुर समाजको अपमान पनि पचाएकी हुन्
बेच्न त मुखिया र जिम्मवालको घरमा
उहिल्यै देखि श्रम बेचेकी हुन्
मेरी आमालाई लाजको कोर्रा हान्न
लजाएन यो समाज
मेरी आमाको श्रम किन्न
डराएन यो समाज
के दोष मेरी आमा परिश्रमी हुनुमा?
चुहिने पुरानो छानो मुनि
चराले आफ्नो चल्ला ढाके जस्तो
मजबुत पाखुराले
पाँच सन्तान पालेकै त हुन्
कुन सतित्वको सति जानुपर्ने थियो खै
मेरी आमा
गइनन्, त्यसैले बारम्बार
लाञ्छना र कलङ्क लगाउन
पछि पर्दैन यो समाज
सर्पले काचुली फेरे जस्तो
जिम्मेवारी बोक्ने काँध फेरिन्
के दोष मेरी आमाको
फेरि सधुवा हुनुमा
म प्राथना गर्छु
ति आमाहरुको लागी
जो आफ्नो पति कफनमा लपेटिए देखि
सेतै साडीमा लपेटिएकी छन्
म प्राथना गर्छु
ति आमाहरुको लागी
जसको काख भरी सन्तान हुदाँ पनि
अर्को श्रीमती च्यापेर हिड्ने श्रिमानको
नाममा आजसम्म पनि पतिव्रता भेटिएकी छन्
अन्याय अत्याचार को तरबारले रेटिएकी छन्
ति आमाहरुलाई मेरी आमालाई जस्तै
पुनः सिन्दुरमा देख्न पाउँ
ति आमाहरुको फाटेको लुगामा
टालो भएर जिउ छेक्न पाउँ
आमाको अर्थ धर्ती हो यत्ति बुझ्न पाउँ
मुर्ति ढोग्नु भन्दा आमाहरुलाई जिवन भर पुज्न पाउँ
जयन्ता खत्री “सुधा”
जाजरकोट