तुलसीपुर । तुलसीपुर उपमहानगर पालिकालाई ‘ पूर्ण खोप सुनिश्चितता तथा ढिगोपन’ घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा घोषणा कार्यक्रमका प्रमुख अतिथि नित्यानन्द शर्माले मंगलवार नगर पालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा तुलसीपुर उपमहानगर पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो । घोषणा सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि शर्माले बालबालिकाहरुलाई खोप लगाउनु आँफैमा महत्वपूर्ण भएकोले यो पालिका पूर्ण खोप सुनिश्चितता हुनु भनेको स्वास्थ्यको मुख्य आधार बलियो रहेको प्रमाण भएको बताउनुभयो ।
प्रत्येक बडाका कुनैपनि वालवालिकाहरुलाई नछुटाई खोप लगाएको सुनिश्चितता गर्न खटिने सबै वडाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ स्वयं सेविका र पत्रकारलगायत सबैलाई प्रमुख अतिथि शर्माले धन्यवाद दिनुभएको थियो । प्रमुख अतिथि शर्माले सडक निर्माण तथा भौतिक पूर्वाधारको विकासमा संघीय सरकार र प्रदेश सरकारको बढि भूमिका हुने स्पष्ट पार्दै जनताको गास, बास र कपासमा राहत दिन स्थानिय सरकार बनेको जिकिर गर्नुभयो । त्यसका लागि जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरु लगायत सम्बन्धित सबैजना लाग्नुपर्छ – प्रमुख अतिथि शर्माको भनाई थियो ।
तुलसीपुर उपमहानगर पालिकाले गएको पाँच वर्षदेखि लगातार पूर्ण खोप सुनिश्चितताको घोषणा गर्दै आएको छ । स्वास्थ्यकर्मीहरु, महिला स्वस्थ्य स्वयं सेविका, जिल्ला खोप समन्वय समितिका प्रतिनिधि र पत्रकारहरुको टोली पालिकाको सबै वडाहरूमा पुगेर वालबालिकाले खोप लगाए वा नलगाएको खोजि गरेको थियो । जसमा खोप नलगाएका वालबालिका एउटा पनि नभेटिएको र आंशिक खोप मात्र लगाएका ४ जना बालबालिकाहरु भेटिएका थिए । जसका आधारमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । गतवर्ष तुलसीपुर उपमहानगरपालिका भित्र ८ हजार ६ सय ८३ जना बालबलिकाहरुले खोप लगाएका थिए ।
घोषणा कार्यक्रममा अफ्ना भनाईहरु राख्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले स्वास्थ्यसँग जोडिएको पूर्ण खोप सुनिश्चिततालाई आँफुहरुले निरन्तर अगाडी बढाईरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अझैपनि प्रादेशिक अस्पतालमा वालवालिकालाई खोप लगाएरै नसकिने (भिडभाडका कारण) परिस्थिति बनेको औल्याउँदै आगामी दिनमा सजिल्यै खोप लगाउन सकिने गरि अस्पतालसँग साझेदारी गरेर अगाडी बढिने बताउनु भयो । हामीले थप खोप केन्द्रहरुको विस्तार गर्ने र दुरीका हिसावले बालबालिकाहरुलाई खोप केन्द्रमा आउन सुबिधा हुने गरि खोप केन्द्रहरु थप्ने योजना बनाएका छौं – मेयर खडकाको भनाई थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने अन्य अतिथिहरुमा वडा नं ११ का वडाध्यक्ष तथा सामाजिक समन्वय समितिका संयोजक मानबहादुर रावत, जिल्ला स्वास्थ्य कार्यालय दाङ्का प्रमुख किशोर कुमार आचार्य र राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदमराज न्यौपाने लगायत रहनुभएको थियो ।
मेयर टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले स्वागत गर्नुभएको थियो । कार्यक्रमको संचालन जनस्वास्थ्य निरिक्षक विमल केसीले गर्नुभएको थियो ।