तुलसीपुर, बैशाख १३ । दाङको तुलसीपुरमा “चलचित्र पत्रकारिताको मुल मर्म,व्यावसायिक पत्रकारिताका लागि सन्चार कर्म” भन्ने मुल नाराका साथ चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको छ ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्य, तुलसीपुर उपमहानगरपालिकाकाको समन्वय र ज्ञान ज्योति फाउन्डेसन र डिलाइट गुप्रको सहयोगमा होटल वेस्टर्न प्यालेस तुलसीपुरमा बिहीबारदेखि चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको हो ।
तीन दिनसम्म चल्ने कार्यशालामा स्कृप्ट लेखन, कार्यशाला, सिनेमा संवाद र अन्तरक्रिया कार्यक्रम हुने आयोजकले जनाएको छ ।
कार्यशालाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै नगर प्रमुख खड्काले दाङको सन्दर्भमा निकै ऐतिहासिक, पौराणीक स्थलहरु भए पनि त्यसको बारेमा सबैले चासो दिए पनि दंगालीहरुले त्यसप्रति चासो दिन नसकेको बताए । दाङको संस्कृति, दाङको जातिय, धार्मिक अवस्थाको स-विकास हुन नसकेको बताएका हुन । साथै मेयर खड्काले दाङमा पनि तुलसीपुर क्षेत्र, दंगीशरण राजादेखि छिल्लीकोट, प्रतावकोट, सुईकोट, देविस्थान, सकौराकोट, तुई दाङ, बबईको बिशेषता संग जोडिएकाले यो सम्बन्धि अध्ययन अनुसन्धान गर्न सकेमा चलचित्र पत्रकारिताको क्षेत्र महत्वपूर्ण पुँजी बन्न सक्ने बताए । साथै उनले त्यसको लागि पालिका र पत्रकारहरु सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए ।
त्यस्तै शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पर्यटनलाई प्रबर्द्धन गर्न र चलचित्र क्षेत्रको विकासका लागि गाउँपालिकाले बजेट बिनियोजन गरिसकेको बताए ।
त्यस्तै चलचित्र विकास बोर्डका सदस्य एवं प्रवक्ता के.एल पीडितले दाङ जिल्लालाई चलचित्र नगरी बनाउन चाहे पनि त्यसका आधारभुत जनशक्तिको अभाव रहेको बताए । तर चलचित्र क्षेत्रको बिकासका लागि दाङका पालिकाले आबश्यक बजेट बिनियोजन गरेर बहुउद्देश्यीय कला घर निर्माण गर्न सकिने बताए ।
कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष समिर बलामीले सिनेमा पर्यटन प्रबर्द्धनको सशक्त माध्यम भएको भन्दै यसको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्न ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । त्यसैगरी कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकार शान्ति प्रियले चलचित्रलाई समृद्ध उद्योग बनाउनका लागी चलचित्र पत्रकारितालाई मर्यादित बनाउनुपर्ने र कार्यशालाले नयाँ बाटो तय गर्ने बताए ।
त्यस अबसरमा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव सुलोचना गौतम, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगाएतले बोलेका थिए।
चलचित्र पत्रकार संघ दाङका निवर्तमान अध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब निरला अर्यालले गरेकी थिइन ।