विजयराज जोशी , जिल्लाको गौरीगंगा नगरपालिका वडा नं ९ मा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी एकदिने जनचेतनामूलक सत्र सम्पन्न भएको छ।
Visible Impact को आयोजना भएको उक्त कार्यक्रममा गौरीगंगा नगरपालिकाका विभिन्न वडाका युवाहरूको सहभागिता रहेको थियो। किशोरकिशोरी तथा युवाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी जनचेतना फैलाउने, सशक्तिकरण गराउने र निर्णय लिन सक्ने बनाउनका लागि उक्त कार्यक्रम गरेको संस्थाका युथ च्याम्पियन विजयराज जोशीले बताएका छन्।
कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको अवधारणा र सुरक्षित गर्भपतनसम्बन्धी विभिन्न ज्ञानमूलक जानकारी दिएको थियो। नेपालमा गर्भपतनको अवस्था, सुरक्षित गर्भपतन सम्बन्धी कानुनी सीमा, सुरक्षित गर्भपतन गराउने ठाउँ, गर्भपतन गराउँदा पुरुषको भूमिका, गर्भपतनसम्बन्धी भ्रम र तथ्य जस्ता विषयमा छलफल गरिएको थियो।
Visible Impact, विसं २०७२ मा स्थापना भएको र युवाद्वारा नेतृत्व गरिएको संस्था हो, जसले महिला किशोरी र युवालाई लक्षित गरी उनीहरूको स्वास्थ्य अधिकार र क्षमता वृद्धिमा काम गर्दै आएको छ।