बिशाल बिश्वकर्मा, बिजौरी, फागुन १२
नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाले १२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ ।
साधारण सभामा नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सचिव मुकेश वलीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सागर रेग्मीले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव मुकेश वलीले यस उपशाखाको आफ्नै भवन निर्माणका लागि साधारण सभामा प्रस्ताव राखेका छन । यस्तै रक्तदान कार्यक्रमलाई पनि बर्षमा २ पटक अनिवार्य रुपमा सन्चालन गर्न पर्ने सभामा प्रस्ताव राखेका हुन ।
नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको आर्थिक वर्ष २०७९/८० को आम्दानी तथा प्राप्ति जम्मा रु. ७०२३५ र आर्थिक बर्ष २०७९/८० को खर्च तथा भुक्तानी जम्मा रु. ३०२३९४.५२ रहेको आर्थिक प्रतिवेदन सभामा सार्वजनिक गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको १२ औं वार्षिक साधारण सभा नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला सभापति मदन गौतमको प्रमुख आतिथ्यमा रहेको थियो । उक्त कार्यक्रममा सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला सभापति मदन गौतमले नेपाल रेडक्रस सोसाइटीका नयाँ आजिवन सदस्यहरुलाई स्वागत गर्दै, सबैको साथ सहयोगमा नेपाल रेडक्रस सोसाइटी सम्पूर्ण दाङ जिल्लामा फैलिएको बताएका थिए । उपशाखाले आफ्नो निर्धारित क्षेत्रमा विगतका बर्षहरुमा भन्दा राम्रो प्रगति गरेको गौतमले बताएका हुन।
गौतमले पछिल्लो समयमा आफुहरुले संघको माताहतमा प्रदेश शाखा, प्रदेशको माताहतमा जिल्ला शाखा, जिल्ला शाखाको माताहतमा पालिका शाखा र पालिका शाखाको माताहतमा रहनेगरी विभिन्न उपशाखाहरु रहनेगरी विधान संसोधनको प्रस्ताव गर्ने तयारी गरेको पनि बताए ।
उक्त कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा तुलसीपुर उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष प्रेमनाथ योगी, जनता क्याम्पसका प्रतिनिधि प्रभात पोख्रेल लगायत अतिथिहरुमा ने क पा माओवादी केन्द्र वडा नं १८ का सहसचिव गिरिराज नेपाली, ने क पा एमाले वडा नं १९ का अध्यक्ष लोक बहादुर रोका, जनस्वास्थ्य रोल्पा पोषण शाखा प्रमुख डिल्ली के. सी, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेशम राज खड्का लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष प्रेमनाथ योगीले नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाले हरेक गाउँ, टोल, विद्यालयहरूमा पुगेर रेडक्रसको महत्व तथा जनचेतनामुलक कार्यक्रमहरु राख्न पर्ने बताएका छन । नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखा र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ को समन्वयमा थुप्रै स्थानहरुमा कार्यक्रम राखेको र यसलाई अझ प्रभावकारी बनाउँदै थप कार्यक्रमहरु गर्न वडा सदैव तत्पर रहेको वडा अध्यक्ष योगीले बताएका छन ।
सो कार्यक्रमका बोल्दै जन स्वास्थ्य रोल्पा पोषण शाखाका प्रमुख डिल्ली के.सी ले स्वास्थ्य क्षेत्रमा काम गर्ने मानिसहरूले निस्वार्थ रुपमा सेवा प्रदान गर्नुपर्ने र रेडक्रस सोसाइटी वा अन्य स्वास्थ्य क्षेत्रमा आवद्ध भएकाहरुले ७ सिद्धान्त: निस्वार्थ, स्वाधिनता, तटस्थता, निस्पक्षता, एकता, बिश्वव्यापकता र स्वयमसेवक सेवाका साथ सेवा प्रदान गर्नुपर्ने बताएका छन ।
१२ औं साधारण सभाका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला सभापति मदन गौतम र बिशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं १९ का वडा प्रमुख प्रेमनाथ योगीले नयाँ ९७ जना आजिवन सदस्यहरुलाई सदस्यता प्रमाण पत्र वितरण गरेका हुन ।
नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सदस्य प्रदिप गौतमले स्वागत मन्तव्य राख्दै र गजलकार कपिल लामिछानेले गजल र मुक्तक राख्दै कार्यक्रममा स्वागत गरेका थिए। नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाका कार्यक्रम को सहजिकरण नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सचिव मुकेश वली ले गरेका थिए ।