सागर सुबेदी,फागुन ७
आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक बर्ष फागुन ७ गते मनाइन्छ ।
राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।
विगतमा यो दिनको बेग्लै महत्व थियो । २०६३ वैशाखमा लोकतन्त्र स्थापनासँगै यो दिन ओझेलमा परेको हो । अब ‘प्रजातन्त्र’को ठाउँमा ‘लोकतन्त्र’ ले ठाउँ थियो । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउँदै गएको छ र त्यो ‘लोकतन्त्र’ले लिएको हो । शब्द फेरीए पनि शासकिय वृत्त अझै लोकतन्त्रसँग अभ्यस्त छैन, तिनका क्रियाकलापमा राणा शाहीकै धङ्धङी नियमित छ ।
तर, यो दिन नेपालको राजनीतिक र शासकीय इतिहासमा प्रजातन्त्रको बेग्लै महत्व छ । २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो । यदि राजाले साथ नदिएको भए प्रजातन्त्र स्थापना अझै समय कुर्नुपथ्र्याे होला ।
२००७ सालको क्रान्तिलाई नेपालको प्रजातान्त्रिक आन्दोलन पनि भनिन्छ । देशमा विद्यमान एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो । यस क्रान्तिमा नेपाल प्रजा परिषद् नेपाली कांग्रेस पार्टीहरूले भाग लिएका थिए । नेपाली काँग्रेसको असोज ११र१२,२००७ सालमा बैरगनियामा भएको सम्मेलनले राणा शासन विरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय गर्यो । २१ कार्तिक २००७ मा क्रान्तिको घोषणा भयो । नेपाली कांग्रेसको नेतृत्वमा भएको देशव्यापी शसस्त्र क्रान्ति पछि विभिन्न ठाउँमा राणा बडाहाकिमहरूले आत्मसमर्पण गर्दै आए । ती ती ठाउँमा जनताको सरकार स्थापना हुँदै आयो र अन्त्यमा तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको संयोजकत्वमा नयाँदिल्लीमा राणा, कांग्रेस र राजा बीच त्रिपक्षीय सम्झौता भएपछि कांग्रेसले आन्दोलन रोकेको थियो ।
लामो समयदेखि आफ्नो परिवार सहित भारत गएका राजा त्रिभुवन २००७ फागुन ६ गते नेपाल आए र ७ गते प्रजातन्त्रको घोषणा गरियो ।
दिल्ली सम्झौताका मुख्य सर्तहरू :
(क) जनताद्वारा निर्वाचित विधान सभाले संविधान निर्माण गर्ने
(ख) १० जना ( ५ नेपाली कांग्रेस र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने
(ग) श्री ३ मा निहित भएका सबै अधिकार राजालाई सुम्पिने र वैधानिक राजा त्रिभुवन नै हुने
(घ) फौजदारी अभियोग लागेका बाहेक अरू राजबन्दीलाई बिनासर्त रिहा गर्ने
(ङ) आन्दोलनकारीहरूले सरकारलाई आफ्ना हतियारहरू बुझाउनुपर्ने र आन्दोलन रोक्नुपर्ने ।
(च) वैधानिक राजा त्रिभुवन नै हुने
प्रजातन्त्रको घोषणा सँगै राणा र कांग्रेस दुवै पक्षको सहभागिता गराई एक मन्त्रिपरिषद्को घोषणा भयो । नेपालको अन्तरिम शासन विधान २००७ जारी गरियो ।
त्यसपछि हरेक वर्ष फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।