काठमाडौ १७ माघ/ आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले समूह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समूह डी मा तेस्रो हुँदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बङ्गलादेशले समूह चरणमा ३ खेलमा २ जित र एक हारसहित समूह ए बाट दोस्रो हुँदै सुपर सिक्समा पुगेको हो ।
नेपाल अहिले सुपर सिक्सको समूह १ मा समूह चरणको रनरेटको आधारमा पाँचौँ स्थानमा रहेको छ । नेपाल सेमिफाइनलमा पुग्ने कुनै सम्भावना नरहेकाले बंगलादेशविद्ध जित निकाल्दै प्रतियोगितामा सनसनी मच्चाउने लक्ष्यमा रहने छ ।
मंगलबारका खेलमा भारत र पाकिस्तानले सुपर सिक्सको पहिलो खेल जितिसकेकाले नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो ।
नेपालले समूह चरणमा न्यूजील्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रवार अफगानिस्तानलाई रोमाञ्चक एक विकेटले पराजित गरेको थियो ।
आजको खेलपछि नेपालले शुक्रवार भारतविरुद्ध खेल्ने छ । सुपर सिक्समा रहेका ६ देशले २(२ खेल खेलेपछि शीर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्ने छन् ।