
रज्जु बिडारी, धादिङ,माघ ८
तपाईं के काम गर्नुहुन्छ ? गर्न त म धेरै थरी काम गर्छु तर सबैले सोध्ने यो प्रश्नको जवाफमा म केही काम नि गर्दिनँ भनेर दिन्छु।मान्छेहरु फेरि भन्छन् होइन होला केही त पक्कै गर्नुहुन्छ ? म हाँस्दै भनिदिन्छु “सानोमा बुवा ममीले पाल्नुभयो,अहिले श्रीमानले पाल्नु भएको छ अनि बुढेसकालमा पाल्छ भनेर छोरा पाएको छु अनि किन काम गर्नुपर्यो मैले !” मेरो ठट्यौली जवाफ सुनेर उहाँहरु हाँस्नुहुन्छ।

साच्चै भनेको म केही काम गर्दिन। यहाँ काम गर्ने भनेको त्यसको बदलामा पैसा कमाउनु हो। परिश्रम =पारिश्रमिक (पैसा )भयो भने मात्रै काम गरेको मानिन्छ । तर म धेरै काम गरेर नि पैसा कमाउने काम चै गर्दिन है फेरि ! बिहानै देखि बेलुका सम्म मैले गरेको कामको बदलामा मलाई गाँस बाँस कपाँस स्वास्थ मनोरञ्जन, सुरक्षा सबै सुबिधा उपलब्ध गराईएको छ । म १०–४ को होइन उस्तै परे चौबीसै घण्टा पनि काम गर्छु तर मेरो तलब आउदैन। मैले यो मेरो कमाई भनेर देखाउने पारिश्रमिक नै नलिगी कसरी भनौ म यो काम गर्छु भनेर?

म बिहानै उठ्छु परिवारलाई खाना बनाउछु बच्चालाई हतार हतार खुवाएर स्कुल पुर्याउछु। फर्केर आउछु बाकी परिवारलाई खाना खुवाउछु,भाडा माझ्छु, घर सफा गर्छु ,कपडा धुन्छु। कतै घर बाहिर जानुपर्ने काम(सामान किन्न आफन्त भेट्न,बिरामी भेट्न वा अरु दैनिक जिवनमा आउने फरक फरक काम)भए जान्छु नत्र पसलमा बस्छु। सामान बेच्ने होइन बनाउने पसलमा मैले केही काम गर्दिन।बनाउन ल्याएको सामान राख्ने र बनेको सामान पठाउने बाहेक ।दिउँसो खाजा बनाउनु,बच्चालाई स्कुलबाट ल्याउनु खाजा खुवाउन ,गृहकार्य गराउनु, साझको खाना बनाउनु ,बच्चालाई खुवाउनु अनि उहीँ भाडा माझ्नुलाई म कसरी काम भन्न सक्छु?
साच्चै भनेको म अरु पनि केही काम गर्दिनँ । बच्चा बिरामी भए रातभरि नसुती उसको हेरचाह गर्नु,अस्पतालमा लिएर जानू, नखाए कसरी खान्छ भनेर फकाई फकाई उसलाई औषधी र खाना खुवाउनु काम होइन आमाको जिम्मेवारी (माया ममता)हो ।परिवारलाई सघाउनु पाहुनालाई स्वागत सत्कार गर्नु त झन् काम हो भन्ने कुरा नै भएन। अनि आफै भन्नुस् त हजुर म के काम गर्छु?
कहिलेकाही श्रीमान सँग पैसा माग्दा उहाले हाँस्दै भन्नुहुन्छ ,कति सजिलो है आफुले कमाउनु परेको भए पो खर्च गर्न माया लाग्नु। म पनि हास्दै भनिदिन्छु ठिकै छ नि हजुर आजबाट मेरो पनि हरेक कामको हिसाब किताब गरेर मलाई महिनावारी तलब दिनुस् म पैसा माग्दिन।
१—कपडा धोएको
२-बिहानै देखि बेलुका सम्म खाना बनाउने भाडा माझ्ने र घर सफा गर्ने
३–बच्चालाई चौबीसै घण्टा हेर्ने र ट्युसन पढाउने ..
भईहाल्यो बाकी कामको चै लिन्न ,यिनिहरुलाई दिने पैसा दिनुस् ,त्यति भए पुग्छ।
अनि साच्चै गल्फ्रेन्ड घुमाउन लैजाने खर्च नि दिनुस् है।हजुर त मलाई कहिल्यै घुमाउन भ्याउनु हुदैन म आफै घुम्छु।
मेरो जवाफले उहाँ हास्दै भन्नुहुन्छ “घुमाउन मन नभएर नघुमाएको हो र बुढी?घुमाउदा घुमाउदै तिमीलाई रिगटा लागेर लड्लिउ फेरि भनेर बुढीको माया लागेर पो नघुमाएको।फेरि म नै तिम्रो मैले कमाएको पनि सबै तिम्रो नै त हो नि,पैसा पो किन चाहियो भनेको त?”
हुन त हो नि घर परिवार अाफन्त श्रीमान् छोराछोरी सबै मेरै हुन्।यो धन सम्पत्ति सबै मेरै हो, त्यहीँ भएर त म केही काम गर्दिन नि।जसको कारणले पाँच रुपैया चाहिए नि हात फैलाएर माग्नुपर्ने हुन्छ ,किनकि म गृहिणी हु।त्यसैले अबदेखि नसोध्नुस् है तपाईं के काम गर्नुहुन्छ भनेर,किनकि म केही काम गर्दिनँ ।