सागर सुबेदी , ५ माघ, तुलसीपुर
तुलसीपुर उपमहानगरपालिका वडा नं ५ र ६ को सिमानामा पर्ने जनता ले बाहिनी चोक भनेर चिनिरहेको चोक पछिल्लो समय विवादित बनिरहेको छ । यो चोकमा कहिल्यै नेत्रलाल चोक त कहिल्यै पृथ्वीनारायण चोक , कहिल्यै गणतन्त्र चोक त कहिल्यै बाहिनी चोकको ब्यानर टाँसिन्छ ।
आज शुक्रबार फेरी नेत्रलाल चोक को नाम हटाएर बाहिनी चोकको ब्यानर टाँसिएको ५ । यस बिषयमा बोल्दै तुलसीपुर उपमहानरपालिका वडा नं ६ का वडा अध्यक्ष दुजमान भण्डारीले भनेका छन “आफ्नो मनपर्दी राखिएका नामहरु रहदैनन नेत्रलाल चोक नै यथावत रहन्छ अन्य ब्यानरहरु निकालेर फालिन्छ ।”
२०५४ सालमा तुलसीपुर नगरपालिकाका तत्कालीन जनप्रतिनिधिको बोर्ड बैठकले बाहिनी चोकलाई नेत्रलाल चोक राख्ने निर्णय गरेकाले सोही निर्णयलाई कार्यान्वयन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।
उसो त राष्ट्रिय शक्ति नेपाल तथा नागरिक अभियान दाङको मागलाई सम्बोधन गर्दै यो चोकलाई तुलसीपुर उपमहानगरपालिकाको २०७९ फागुन २६ गतेको नवौं कार्यपालिका बैठकबाट पृथ्वीनारायण चोक स्वीकार गरेर पृथ्वीनारायण शाहको शालिक निर्माण गर्न दिने निर्णय गरिसकेको छ ।