एलिसाजस्तै प्रतिपक्षी सांसदहरुले विधेयकमाथि टिप्पणी गर्दै विभिन्न मन्त्रीहरूलाई प्रश्न पनि सोध्नुभयो । केही सांसदहरुले संसद् चलिरहँदा नियमापत्ति पनि जनाउनुभयो । विद्यालयमा कक्षा ११ र १२ मा कानुन विषय अध्ययन गरिरहेका विद्यार्थीले नमूना संसदको अभ्यास गरेका थिए । विद्यार्थीलाई किताबी ज्ञान मात्रै नभई प्रयोगात्मक ज्ञानमा जोड्न यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल विष्णुकुमार देवकोटाले बताउनुभयो ।
‘नयाँ युवा, नयाँ सोच’ संस्थाको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा सत्तापक्ष, प्रतिपक्ष, सभामुख, उपसभामुख, प्रधानमन्त्रीसहित संसदमा हुने सबै अङ्ग बनाएर कार्यक्रम गरिएको हो । संसदीय प्रणालीका विषयमा पनि कानुनका विद्यार्थी जानकार हुनुपर्ने भन्दै यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल देवकोटाले बताउनुभयो ।
कानुनका विद्यार्थी अनुसन्धानमुखी, स्पष्ट वक्ता हुनुपर्ने भन्दै त्यसका लागि बोल्ने अभ्यास विकास गर्न पनि सो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । विद्यार्थीले प्रत्येक शब्द–शब्दलाई विश्लेषण गर्न सक्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो । “कानुनका विद्यार्थीमा शब्दसँग खेल्न सक्ने क्षमता हुनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि यस्ता अभ्यास नियमित हुनुपर्छ ।” जति अभ्यास धेरै भयो, त्यति नै विद्यार्थी पोख्त हुने उहाँको भनाइ छ । रासस