मिती २०८० साल कार्तिक २६ गते आइतबार चतुर्दशी तिथी अपरान्ह: २ / १४ बजेसम्म त्यस उप्रान्त औंसी तिथी भएकोले यो दिन यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाइनुको साथै त्यसपछी लक्ष्मीपूजा गर्नु पर्दछ।जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ ।यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।कुकुरलाई मृत्युको पुत्र यमराजको सेवक यमदूतका रूपमा लिइन्छ ।कुकुर यमराजको अर्को प्रिय भक्त हो ।कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ ।कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ ।त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ ।कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौं ।यो दिन बिहान सबैरै उठी नुहाईधुवाई गरी पवित्र नदीमा बत्ती बालेर बगाउने चलन छ ।नरक जान नपरोस् भन्ने उद्देश्यका साथ यमराजको पूजा गरी नदीमा बत्ती बगाइने हुनाले यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।वैवस्वत कुलमा जन्मिएका कालो र छिरबिरे वर्णका तिमी दुई कुकुरलाई म अन्न दिन्छु।तिमीहरू मेरो बाटोलाई रक्षा गरिदेउ भनिन्छ।कुकुरलाई इमान्दार पशु मानिन्छ।मानिसले आफू जंगली अवस्थामै रहँदादेखि कुकुर पाल्न थालेको विश्वास गरिन्छ।सिकारदेखि घरको सुरक्षा गर्ने काम होस् वा विभिन्न तरिकाले मनोरञ्जन प्रदान गरेर कुकुरले मानिसलाई साथ दिँदै आएको छ। यही गुणको कदर गरेर मानिसले कुकुरप्रति सम्मान गर्दै वर्षको एकदिन भए पनि कुकुरको पूजा गर्न थालेका हुन्।हाम्रा पौराणिक गाथाहरूमा पनि कुकुरसँग जोडिएका अनेकौं प्रसङ्ग छन्। वेदमा देवकुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसङ्ग छ।यस्तै अर्को पौराणिक प्रसङ्गमा यिनका छाउराहरूलाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसंग छ। यस्तै महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा एउटा कुकुर साथै गएको तथा अन्तिममा युधिष्ठिरसित ऊ पनि स्वर्ग पुगेको कथा छ। उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूप बताइएको छ। कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ।यस दिन मासको पात खाने चलन छ। लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसका सबै पाप नाश हुन्छन्। त्यसैगरी यस दिन सबै पाप नाश गर्न तथा नरकलाई प्रसन्न पार्न नर्के नुहाइन्छ।नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो तापिन्छ।यसो गर्दा नरकमा जानु पर्दैन भन्ने मान्यता छ।
लक्ष्मी पूजाको कस्तो छ धार्मिक मान्यता र महत्व !
यो दिन लक्ष्मीपूजा ,दीपमालिका र सुखरात्रिको उपलक्ष्यमा संसारमा रहेका समस्त जीव मात्रमा माता लक्ष्मीले कल्याण गरुन भनि प्रार्थना गर्दछु।साथै जगतमा कसैलाई पनि दु:ख – कष्ट ,असैह्य – पिडा ,भोक – रोग – सोक,हिंसा ,छल – कपट खेप्न नपरोस्।सवै प्राणीमात्रमा गास – बास – कपास माता लक्ष्मीले पुर्याई दिउन।सवैमा दया – माया – करुणा – प्रेम -सद्भाव ,सद्बिचार – सद्ज्ञान , सामाजिक सेवा – परोपकारी भावना , राष्ट्रिय – भक्ति ,शान्ति – मेलमिलापको भावना बढेर जाओस् !सवैमा वैदिक सनातन धर्म प्रति आस्था – बिश्वास र श्रद्धा बढेर जाओस्।गरिवीको चपेटामा कसैले पनि बस्नु नपरोस भनि सवैमा हार्दिक मंगलमय शुभकामना टक्र्याउँदछु।
कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ ।गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् ।गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ ।महालक्ष्मीको शुभ पुजाको शुभ मुहूर्त
महालक्ष्मी पूजनमा अमावस्या तिथि, प्रदोषकाल, शुभलग्न वा चौथों घडीले विशेष महत्व राख्दछ भनिएको छ ग्रन्थहरुमा भने महालक्ष्मी पूजन सायंकाल प्रदोषकालमा गर्नुपर्छ । ब्रह्मपुराणमा भनिएको छ ।
“ कार्तिके प्रदोषेतु विशेषेण अमावस्या र्निषाबधके ।तस्या सम्पूज्येत देवी भोग मोक्ष प्रदायिनी ।।“
.लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ ।कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ ।यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ ।यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ ।भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्,यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ ।सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोगगरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो ।दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख-सन्तोष प्रदान गर भन्नेयो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् ।नेपालका प्रमुख पर्वहरुमध्ये एक हो।तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ।नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ।नेपालमा यसलाई यमपञ्चकको एक भागको रुपमा मनाइन्छ।वर्षका चार महत्वपूर्ण रातहरुमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ।यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरुले घरघरैगई भैलो खेल्ने चलन छ।यसै दिन विष्णु भगवानले हिरण्यकश्यपको वध गरेको बताइन्छ।यसदिन नेपाली सालको नयाँ वर्ष शुरु हुन्छ।
भैली र देउसीको महत्व !
अयोध्यावासीहरुले आफ्ना परम प्रिय राजाको आगमनमा खुशियाली मनाएका थिए।श्री रामको स्वागतमा अयोध्यावासीहरुले घिउका दियाहरु बालेका थिए । कार्तिकमासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरुको उज्यालोले जगमगाएको थियो। मानिसहरुले घर-घरमा, गल्ली-गल्लीमा देव श्री राम (जसको अर्थ हुन्छ: हाम्रा राम देउता हुन्) को नारा लाउँदै घुमेकाथिए, देव श्री रामबाट विकृत हुँदै देउसिरी राम, देउसिरे, देउसी भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरु देउसी खेल्दै हिंड्ने चलन छ।देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरुमा एउटा भट्याउने र अरु भट्याउनेको पछि-पछि देउसिरे भन्ने हुन्छन्।
देउसीको पछि एउटा अर्को कथा पनि जोडिएकोछ, जो यस प्रकार छः
बताइन्छ एक जना बलि भन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केही खादैंनथे। यस पुण्यको प्रतापले स्वर्गादि लोकहरु हल्लिन थाले र देवताहरुले भगवान् विष्णुको प्रार्थना गरे जसमा विष्णुले बलिलाई दमन गरी पाताल पुर्याउने आश्वासन दिए। त्यसपछि वामन (बाहुन्ने)को रुप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे, यसमा बलिले सोचे ‘ यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरु पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेकाथिए वामनको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो थाप्लो थापे, थाप्लोमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्, यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरि बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ। देउसेहरु बलि राजा आउन नभ्याएको र उनीहरुलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् । स्त्रीजातिहरुले पनि बलिको स्वागतमा बलि गीत विकृतरुप भैली गीत गाउँछन्।
पं-बालमुकुन्द देबकाेटा