२५ असोज ।
युद्धग्रस्त इजरायलमा नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमान बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्दैछ । परराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीका अनुसार इजरायलको स्थानीय समयअनुसार बिहान ११ बजेर १० मिनेटमा नेपाल वायुसेवा निगमको विमान इजरायल अवतरण गर्नेछ । त्यसपछि नेपाल फर्किने नागरिकलाई दुई घण्टाभित्र विमानमा राख्ने र त्यहाँको समयअनुसार १ बजेर १० मिनेटमा नेपालका लागि उडान भर्ने तालिका रहेको जोशीले जानकारी दिए । नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना नेपाली फर्किने छन् । नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ विमानमा इजरायल गएका छन् । मन्त्रालयका अनुसार मन्त्री साउदको इजरायली विदेश मन्त्रालयका उच्च तहका अधिकारी र नेपाली राजदूत कान्ता रिजाललगायतसँग विमानस्थलमा भेट गर्ने कार्यक्रम रहेको छ ।