नागपञ्चमीकै दिन मनाइने थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरहीपर्व थारु समुदायले धुमधामका साथ मनाउँदैछन् ।
थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ , नाग बाबालाई पुजा गर्दा विषालु सर्प घरमा नआउने , घरमा चट्याङ नपर्ने , आगलागी नहुने , दुःखको बज्रपात नपर्ने , रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजागर्नुको आशय दुःख , कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने नै हो ।
गुरहीकै दिनदेखि वर्षायाम अन्त्य भई हिउँद शुरुभएको मानिन्छ । तर थारु समाजमा यो तिहारलाई फरक किसिमले लिने गरिन्छ । खेतीपातीको काम भ्याएर सबैजना घरमा फुर्सदिलो भएकाबेला आउने यो पर्व पर्दछ । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ ।
थारु समाजमा ‘गुरही , गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी नेपालीहरु नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँ अनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाइन्छ ।