सुनौ है सबैले ध्यान दिएर, कामकाज अहिले सबै भुलेर,
भन्दै छु आज म कविता, बाल अधिकार शिर्षक लिएर।
झन्डै आधा नेपाल ढाकेको संख्या बालबालिकाको
खै त ती मासुमहरूलाई, उचित अधिकार दिइएको?
केही अलग गरौ, हामी आउँदो दिवस,
नहोस् कुनै बालबालिकाको बाल्यकाल तहस् नहस्।
जो लगाउँदै हिड्ँछ नारा, भन्दै बाल अधिकार,
उसले नै बनायो विचारा तिनलाई आफ्नो नोकर।
माया जतायो उसले झुटो, बच्चा भनेर उनीहरूलाई लुट्यो,
रिस मालिकको जब फुट्यो, बिजुली भनेर मासुममा टुट्यो।
भेटिन्छन् है कयौँ निर्दोष, स्कुल देख्या नहोलान् जसले,
बेवस छोड्ने उनिहरुलाई बिचरा, हक दियो ति निर्दयीलाई कसले?
सेनिमार, गोष्ठी र सम्मेलन, बाल अधिकारको नाममा,
बाहिरी रुप र बोलिमा, तर लागु हुँदैन व्यवहारमा।
बालबालिका भविष्यका कर्णधार भन्छन्,तर खै बाल अधिकार?
शोषण भइरहेका छन् बालबालिका, कसैको चाहना पार्न साकार।
म र हामी जस्तै बालबालिका, मागिरहेका छन् सडकको माझ
खुल्ला आकाशमा बिताउँछन्, उनिहरु आफ्नो रात।
सीता, भृकुटी, देवकोटा, सबै थिए बालक,
आजका साना बालबालिका, भोलिका संसारका चालक।
बालबालिकाले पाउनु पर्छ, समान हक र अधिकार,
बाल अधिकार बिना रहँदैन खुसी यो संसार।
अधिकार भन्ने कुरा, पाइँदैन है मागेर
आजै हिडौँ मुक्तिका लागि काँधमा, काँध थापेर।
आओ सबै मिली गरौँ, एउटा सानो पहल,
दिएर अधिकार बालबालिकालाई, बनाऔं अब नयाँ नेपाल।
रूपन्देही जिल्ला
तिलोत्तमा नगरपालिका वडा नं २