नेपालमा स्नातक तहलाई चारवर्षे बनाइएको एक दशक पनि पूरा नहुँदै यसको औचित्यमाथि प्रश्न उठेको छ । त्रिभुवन विश्वविद्यालय र अरू केही विश्वविद्यालयका प्राध्यापक तथा शिक्षकहरूले चारवर्षे स्नातकको समीक्षा आवश्यक रहेको अभिव्यक्ति सार्वजनिक गरेर छलफलको प्रारम्भ गरेका छन् ।
२०५२ सालसम्म दुई वर्षको रहेको स्नातक तहलाई २०५३ सालदेखि २०७१ सम्म तीन वर्षको बनाइएको थियो । तर विदेशका कतिपय विश्वविद्यालयमा चारवर्षे स्नातक तह रहेको र नेपाली विद्यार्थी ती विश्वविद्यालयमा पढ्न जाँदा स्नातकमै थप एक वर्ष पढ्नुपर्ने कारण देखाएर नेपालमा २०७२ सालदेखि चारवर्षे स्नातक कार्यक्रम सुरु भएको थियो ।
त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डीन प्रा.डा.चित्रबहादुर बुढाथोकीका अनुसार स्नातक तह दुई वर्षको हुँदा भर्ना भएका अधिकांश विद्यार्थीले पढाइ पूरा गर्थे । तीन वर्षको बनाएपछि करिब २५ प्रतिशत विद्यार्थीले बीचमै पढाइ छाड्थे । अहिले चार वर्षको बनाएपछि अन्तिम परीक्षा दिने विद्यार्थी ३० देखि ३२ प्रतिशत बाँकी रहने गरेका छन् ।
चारवर्षे स्नातकको नतिजा आउँदासम्म ६ वर्ष लाग्ने, स्नातक उत्तीर्ण भइसक्दा पनि जागिरको ग्यारेन्टी नहुने जस्ता कारणले भर्ना हुने र ड्रप आउट हुने विद्यार्थी बढिरहेको उनको भनाइ छ ।
‘स्नातक तह पढ्नकै लागि ५÷६ वर्ष लाग्ने भएपछि छोडिरहेका छन् । त्यसैले यो अलि व्यावहारिक भएन कि, देशलाई सुहाउँदो भएन कि भनेर छलफल हुनुपर्छ’, बुढाथोकीले भने ।
चारवर्षे स्नातक कार्यक्रमले विद्यार्थीको समय धेरै खपत गरेको, अभिभावकलाई बोझिलो भएको व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराम शर्मा बताउँछन् । यही कारण वैदेशिक अध्ययनमा जाने विद्यार्थी बढेको हुनसक्ने उनको भनाइ छ । ‘तीनवर्षे बनाएर मात्रै विद्यार्थी रोकिन्छ भन्ने होइन सबै कार्यक्रम चार वर्षकै चाहिन्छ त भनेर सोच्ने बेला चाहिं भएको छ ।’
चिकित्सा शिक्षा, विज्ञान, सूचनाप्रविधि, इन्जिनियरिङ लगायत प्राविधिक विषयको स्नातक चार वर्षको उचित भए पनि शिक्षा, मानविकी र व्यवस्थापन जस्ता विषय तीन वर्षको बनाउँदा पनि हुने उनको राय छ । यद्यपि यस विषयमा व्यापक छलफल हुनुपर्ने प्रा.डा. शर्मा बताउँछन् ।
शिक्षा शास्त्र संकायको स्नातक तह चार वर्षको बनाउँदा धेरै विषयवस्तुको ज्ञान हुने, विद्यार्थीको बुझाइ फराकिलो हुने, हरेक विषयको गहिरो ज्ञान हुने हुनाले राम्रा शिक्षक उत्पादन हुने तर्क गरिएको थियो ।
तर चारवर्षे स्नातकबाट उत्पादन भएका विद्यार्थी पनि शिक्षकको प्रतिस्पर्धात्मक परीक्षा, ज्ञान, सीप, शिक्षण दक्षतामा धेरै फरक नदेखिएको शर्माले बताए । ‘तीनवर्षे र चारवर्षे कार्यक्रमले शिक्षण दक्षतामा पनि खासै फरक नदेखिंदा अव्यावहारिक, लामो र खर्चिलो मानेर विद्यार्थीले पढाइ पूरा नगरेको देखियो’, उनले भने ।