पुस १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जाँदाजाँदै आफूनिकट विभिन्न संघसंस्थालाई ३० करोड रूपैयाँ अनुदानका रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छन् । सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा कार्यरत संघसंस्थालाई प्रवद्र्धन गर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुदान दिने गरेको छ। यसरी दिइने अनुदान नियमित भने हुँदैन ।
मन्त्री श्रेष्ठले गत साता ७० वटा संघसंस्थाका लागि रकम तोकेरै अनुदान दिन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका हुन् । मन्त्रालयका सचिव सुरेश अधिकारले ७० वटा संघसंस्थालाई अनुदान दिन अर्थमा प्रस्ताव पठाएको स्विकारे । ‘हामीले संस्था र अनुदान रकमसमेत तोकेर अर्थमा प्रस्ताव पठाएका छौं’, सचिव अधिकारीले भने, ‘अर्थले अझै सहमति दिएको छैन ।’ अर्थले सहमति दिए विभिन्न ७० वटा संघसंस्थालाई अनुदानका रूपमा रकम उपलब्ध गराइने उनले बताए ।
मन्त्रालयले प्रतिष्ठान वा संघसंस्थालाई अनुदान रकम उपलब्ध गराउने सम्बन्धमा कार्यविधि तयार पारेको छ । कार्यविधिमा अनुदानका लागि पाँचवटा मापदण्ड बनाइएको छ । मन्त्रालय स्रोतले भन्यो, ‘तर नाम छनोट गर्ने क्रममा मापदण्ड लागु भएको छैन ।
विशेषगरी मन्त्रीको स्वविवेक र इच्छामा अनुदान पाउने संघसंस्था छानिएका छन् ।’ कार्यविधिको मस्यौदा तयार गर्नुअघि नै मन्त्री श्रेष्ठले अनुदान पाउने संघसंस्थाको सूची तयार गरेका थिए । मन्त्रालयका सचिव अधिकारीका अनुसार अनुदान पाउने संघसंस्थालाई पाँच वर्गमा बाँडिएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव राजेन्द्र केसीका अनुसार मन्त्रालयबाट अनुदान पाउन ५ सयभन्दा बढी संघसंस्थाले निवेदन दिएका थिए । प्राप्त निवेदनका आधारमा अनुदान पाउने संघसंस्थाको नाम छानिएको केसीले बताए । यो समाचार नागरिक दैनिकमा छ ।