काठमाडौं, पुस ९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतले नफुटाएको दाबी गरेका छन् ।
अदालतले पहिल्यै दर्ता भएको अर्को पार्टीसँग नाम मिलेको भन्दै दर्ता मात्रै खारेज गरेको उनको भनाइ थियो । काठमाडौं–प्यूठान सम्पर्क मंचले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले विभाजन चाहने तत्वले पार्टी फुटाएको जिकिर गरे ।
‘अदालतले पार्टी फुटाएको होइन, पार्टीको नाम फेर मात्रै भनेको हो । अर्को नाम लिएर आउनु भनेकै हो । ओलीले भने, ‘पार्टी फुटाउने उद्देश्यले काम भइरहेको थियो । प्रचण्ड–माधव नेपाल र झलनाथ खनालहरूले पार्टी फुटाएका हुन् ।’
उनले आफूले धेरैपल्ट अर्को नाममा पार्टी जोगाउने कोशिश गरेपनि नसकेको दाबी गरे ।
एमाले सिध्याउन चाहने तत्वलाई अहिलेको चुनावसम्म आउँदा आफूहरूले परास्त गरेको उनले जिकिर गरे ।