पुस ४ । अनुकूल मौसम, रोग र कीराको प्रकोपमा कमी आएका कारण यो वर्ष धान उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन पाँचदेखि ८ प्रतिशतसम्म बढ्ने आकलन छ ।
यो वर्ष अनुकूल मनसुनी सक्रियता देखिएको, उन्नत बीउ र रासायनिक मलको आपूर्ति पनि सहज भएका कारण उत्पादन वृद्धि हुने देखिएको दाबी मन्त्रालयले गरेको हो । मन्त्रालयले अहिले सातै प्रदेशको धान उत्पादनको तथ्याङ्क अद्यावधिक गरिरहेको छ । मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको तथ्याङ्क भने आउन बाँकी छ । यो वर्ष मुलुकभर १५ लाख चार हजार ४८६ हेक्टर क्षेत्रफलमा ९४ प्रतिशत धान रोपाइँ भएको थियो । यो वर्ष खेतीयोग्य जमिनको क्षेत्रफल र उत्पादन दुवै बढ्ने देखिएको मन्त्रालयले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।